विश्वकपको अनौठो कथा: एकै खेलमा ३ पटक पहेँलो कार्ड पाएपछि मात्र मैदान बाहिरिए खेलाडी
एजेन्सी – विश्वकप फुटबल २०२६ सुरु हुन अब मात्र ४८ दिन बाँकी छ। यसै अवसरमा विश्वकप इतिहासका केही रोचक र अविश्वसनीय घटनाहरूको चर्चा सुरु भएको छ। यस्तै एउटा घटना सन् २००६ को विश्वकपमा भएको थियो, जहाँ एकै खेलाडीले तीन पटक पहेँलो कार्ड पाउँदा पनि रेफ्रीले उनलाई मैदानबाट बाहिर पठाउन बिर्सिएका थिए।
ग्राहम पोलको त्यो ऐतिहासिक गल्ती
सन् २००६ को विश्वकपमा क्रोएसिया र अष्ट्रेलियाबीचको खेलमा चर्चित बेलायती रेफ्री ग्राहम पोलले ठूलो गल्ती गरेका थिए। उनले क्रोएसियाका डिफेन्डर जोसिप सिम्युनिचलाई खेलको ६१औँ मिनेटमा पहिलो र ९०औँ मिनेटमा दोस्रो पहेँलो कार्ड दिएका थिए। फुटबलको नियम अनुसार दुईवटा पहेँलो कार्ड पाएपछि खेलाडीले रातो कार्ड पाउँदै मैदान छाड्नुपर्छ, तर सिम्युनिच मैदानमै रहिरहे।
तेस्रो कार्डपछि मात्र रातो कार्ड
खेल सकिएपछि सिम्युनिचले रेफ्रीसँग विवाद गरेपछि उनलाई तेस्रो पटक पहेँलो कार्ड देखाइएको थियो। त्यसपछि मात्र रेफ्री पोलले उनलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका थिए। रेफ्री पोलले आफ्नो रिपोर्टमा दोस्रो पहेँलो कार्ड झुक्किएर अष्ट्रेलियाका खेलाडीको नाममा दर्ता गरेका कारण सिम्युनिचलाई बाहिर पठाउन छुटेको स्वीकार गरेका थिए।
रेफ्री करियरको अन्त्य
यो गल्ती ग्राहम पोलको करियरका लागि घातक सावित भयो। तत्कालीन समयका विश्वकै उत्कृष्ट रेफ्रीमध्येका एक मानिने पोललाई यो घटनापछि उक्त विश्वकपका बाँकी खेलहरू सञ्चालन गर्न दिइएन र उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुपरेको थियो।
विश्वकप २०२६ नजिकिँदै गर्दा यस्ता पुराना र रोचक घटनाहरूले फुटबल प्रेमीहरूलाई थप उत्साहित बनाइरहेका छन्।

टिप्पणी लेख्नुहोस्