अप्रिल महिनाको 'आईसीसी प्लेयर अफ द मन्थ' मनोनयन सार्वजनिक: ओमानका जतिन्दर र यूएईका अजय कुमार सर्टलिस्टमा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अप्रिल महिनाका लागि 'प्लेयर अफ द मन्थ' को मनोनयन सार्वजनिक गरेको छ। पुरुषतर्फ बंगलादेशका तीव्र गतिका बलर नाहिद राना, ओमानका कप्तान जतिन्दर सिंह र संयुक्त अरब इमिरेट्स (यूएई) का बायाँ हाते सिमर अजय कुमार सर्टलिस्टमा परेका छन्।
त्यस्तै, महिलातर्फ दक्षिण अफ्रिकाकी कप्तान लाउरा वोल्भार्ट, श्रीलंकाकी इमेसा दुलानी र ब्राजिलकी अलराउन्डर लाउरा कार्डोसा मनोनयनमा परेका छन्।
पुरुषतर्फका मनोनयन
-
नाहिद राना (बंगलादेश): २३ वर्षीय रानाले न्युजिल्यान्डविरुद्धको एकदिवसीय श्रृंखलामा २-१ को जित दिलाउन मुख्य भूमिका खेले। उनले श्रृंखलामा ८ विकेट लिए, जसमा मिरपुरमा भएको खेलमा ३२ रन दिएर ५ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन रह्यो। उनी 'प्लेयर अफ द सिरिज' समेत चुनिएका थिए।
-
जतिन्दर सिंह (ओमान): ओमानका कप्तान जतिन्दरले नेपालमा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा उत्कृष्ट ब्याटिङ गरे। उनले ५३.२० को औसतमा २६६ रन बनाए। नेपालविरुद्धको खेलमा ९१ बलमा १३९ रनको विष्फोटक इनिङ खेलेका थिए, जुन ओमानका कुनै पनि ब्याटरले एकदिवसीय खेलमा बनाएको उच्च स्कोर हो।
-
अजय कुमार (यूएई): यूएईका बायाँ हाते सिमर अजय कुमारले लिग-२ अन्तर्गत नेपालमै भएको खेलबाट आफ्नो एकदिवसीय करियरको सानदार सुरुवात गरे। उनले नेपालविरुद्ध ३४ रन दिएर ३ विकेट र ओमानविरुद्ध ३५ रन खर्चेर ६ विकेट लिँदै कुल ९ विकेट चट्काए।
महिलातर्फका मनोनयन
-
लाउरा वोल्भार्ट (दक्षिण अफ्रिका): कप्तान वोल्भार्टले न्युजिल्यान्डविरुद्धको एकदिवसीय र भारतविरुद्धको टी-२० श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरिन्। भारतविरुद्धको टी-२० श्रृंखला ४-१ ले जित्दा उनले एक शतक र तीन अर्धशतक प्रहार गरेकी थिइन्।
-
इमेसा दुलानी (श्रीलंका): बंगलादेशविरुद्धको एकदिवसीय श्रृंखलामा 'प्लेयर अफ द सिरिज' बनेकी दुलानीले ११६ रन बनाइन्। त्यसपछिको टी-२० श्रृंखलामा पनि उनले ४० बलमा ५५ रनको महत्त्वपूर्ण इनिङ खेलेकी थिइन्।
-
लाउरा कार्डोसा (ब्राजिल): ब्राजिलकी लाउराले टी-२० आईमा कीर्तिमानी प्रदर्शन गरिन्। उनले ७ खेलमा २०३ रन बनाउनुका साथै १७ विकेट लिइन्। उनले लेसोथोविरुद्ध ४ रन दिएर ९ विकेट लिँदै इतिहास रचेकी थिइन्।
छनोट प्रक्रिया
यी खेलाडीहरूलाई प्रशंसक र आईसीसीको स्वतन्त्र भोटिङ एकेडेमीको मतका आधारमा विजेता घोषणा गरिनेछ। भोटिङ एकेडेमीको मतभार ९० प्रतिशत र प्रशंसकको मतभार १० प्रतिशत रहनेछ। प्रशंसकहरूले आईसीसीको आधिकारिक वेबसाइट icc-cricket.com/awards https://icc-cricket.com/awards मा गएर आफ्नो मनपर्ने खेलाडीलाई भोट गर्न सक्नेछन्।

टिप्पणी लेख्नुहोस्