'मयान यादवको उत्कृष्ट अर्धशतक: के नेपाल 'ए' ले पाएकै हो त भरपर्दो ओपनर?'
काठमाडौं । संयुक्त राज्य अमेरिकाविरुद्धको खेलमा नेपाल 'ए' का मयन यादवले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जीत दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । अघिल्लो खेलमा स्कटल्यान्डसँगको खेलमा ४८ रन बनाएका मयनले यस खेलमा सम्हालिएको इनिङ्स खेल्दै आफ्नो अर्धशतक पूरा गरे ।
नेपाल 'ए' को जीतपछि 'प्लेयर अफ द म्याच' घोषित भएका मयनले अन्तर्वार्ताका क्रममा आफ्नो प्रदर्शन र टोलीको रणनीतिबारे खुलेर कुरा गरे ।
पार्टनरसिप र धैर्यता नै जीतको आधार
अन्तर्वार्ताका क्रममा मयनले अनिल साह र देव खनाल जस्ता मुख्य ब्याट्सम्यानको विकेट चाँडै गुमेपछि आफूहरूले एक एण्डबाट विकेट जोगाउँदै पार्टनरसिप निर्माण गर्ने र खेललाई अन्त्यसम्म लैजाने योजना बनाएको बताए। पिचमा स्पिनरहरूले राम्रो टर्न पाइरहेको अवस्थामा एकातर्फबाट खेललाई होल्ड गर्ने र अर्को तर्फबाट रन निकाल्ने रणनीति सफल भएको उनको भनाइ थियो ।
सर्ट बलमा पकड र आत्मविश्वास
अमेरिकी बलरहरूले सर्ट बलमार्फत आक्रमण गर्ने प्रयास गरे पनि मयनले त्यसलाई सहजै सामना गरे । उनले समयमै पोजिसनमा आएर उत्कृष्ट टाइमिङका साथ प्रहार गरेका थिए। आउट भएको बलका बारेमा बोल्दै उनले त्यो 'लुज बल' भएको र अलि बढी आक्रामक हुन खोज्दा विकेट गुमाउन पुगेको स्वीकार गरे।
ओपनिङ ब्याटिङ नै रोजाइ
प्रधानमन्त्री कपमा शतक र जय ट्रफीमा समेत राम्रो प्रदर्शन गरेका मयानले आफू मूलतः ओपनर भएको र ओपनिङमा ब्याटिङ गर्न नै बढी रुचाउने बताए। उनले टोलीमा तलसम्म ब्याटिङको गहिराई भएकाले आफू आउट भए पनि टोलीले खेल जित्नेमा विश्वस्त रहेको उल्लेख गरे ।
मयनले आफ्नो यो प्रदर्शनले करियरमा थप आत्मविश्वास थपेको र आगामी खेलहरूमा अझ ठूलो स्कोर बनाउने लक्ष्य राखेको बताएका छन्।

टिप्पणी लेख्नुहोस्