नेपाली क्रिकेटको फराकिलो आधार देखेर खुसी छु, एनपिएलले ठूलो भूमिका खेल्यो: पुबुदु दासानायके
काठमाडौँ । अमेरिकाका मुख्य प्रशिक्षक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको बढ्दो स्तर र खेलाडीहरूको फराकिलो 'पुल'प्रति खुसी व्यक्त गरेका छन्।
नेपाल भ्रमणमा रहेको अमेरिकाको टोली र नेपाल 'ए' बीचको खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुबुदुले नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको बताएका हुन्। उनले भने, "नेपाल एउटा उत्कृष्ट क्रिकेट राष्ट्र हो। खेलाडीदेखि फ्यान र मिडियासम्म सबै कुरा नेपाललाई शीर्ष स्थानमा पुर्याउनका लागि राम्रोसँग मिलेको छ।"
उनले नेपाल 'ए' टोलीको प्रदर्शनलाई लिएर प्रशंसा गर्दै नेपालसँग अहिले खेलाडीहरूको ठूलो समूह रहेको उल्लेख गरे। पुबुदुका अनुसार नेपाल 'ए' टोली निकै प्रतिस्पर्धी देखिएको छ, जसले नेपाली क्रिकेटको भविष्य सुरक्षित रहेको संकेत गर्छ।
एनपिएलको प्रभाव
पुबुदुले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपाली क्रिकेटको आधार ठूलो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। "मलाई लाग्छ एनपिएलले नेपालको क्रिकेट विकासमा धेरै योगदान पुर्याएको छ र यसले खेलाडी छनोटका लागि एउटा बलियो आधार तयार पारिदिएको छ," उनले थपे।
आगामी सिरिजमा नेपाल बलियो प्रतिस्पर्धी
विश्वकप लिग–२ अन्तर्गत अमेरिका, स्कटल्याण्ड र नेपालबीच हुने प्रतिस्पर्धालाई लिएर सोधिएको प्रश्नमा पुबुदुले नेपाल आफ्नै घरेलु मैदान र परिस्थितिमा निकै बलियो रहने बताए। उनले भने, "स्कटल्याण्ड राम्रो टोली भए पनि यो क्षेत्रको स्पिन कन्डिसनमा उनीहरूलाई चुनौती हुनेछ। नेपालले यी परिस्थितिहरूमा अमेरिका र स्कटल्याण्ड दुवैसँग काँधमा काँध मिलाएर कडा प्रतिस्पर्धा गर्नेछ।"
नेपाली राष्ट्रिय टोलीलाई समेत नजिकबाट नियालिरहेका उनले नेपालको पछिल्लो सिरिजहरूमा प्रदर्शन सुधारोन्मुख रहेको र टिमले सही काम गरिरहेको भन्दै प्रशंसा गरे।

टिप्पणी लेख्नुहोस्