लेख विवरण

आगामी वर्ष खेलकुद पूर्वाधारको वर्ष: ८ हजार क्षमताका १० फुटबल रङ्गशालामा फ्लड लाइट राखिने, बजेट ४ अर्ब ३ करोड

आगामी वर्ष खेलकुद पूर्वाधारको वर्ष: ८ हजार क्षमताका १० फुटबल रङ्गशालामा फ्लड लाइट राखिने, बजेट ४ अर्ब ३ करोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत खेलकुद क्षेत्रको विकास, पूर्वाधार निर्माण र खेलाडीको वृत्तिविकासका लागि विशेष प्राथमिकता दिएको छ । खेलकुद क्षेत्रका लागि कुल रू. ४ अर्ब ३ करोड विनियोजन गर्दै सरकारले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने नीति अघि सारेको हो ।

बजेट वक्तव्य प्रस्तुत गर्दै सरकारले आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रङ्गशालालाई फ्लड लाइट सहित स्तरोन्नति गर्ने घोषणा गरेको छ । त्यस्तै, देशका प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिने भएको छ ।

इन्डोर स्टेडियम र क्रिकेट रङ्गशालाको गुरुयोजना

सरकारले खेलकुद पूर्वाधारलाई देशव्यापी बनाउने उद्देश्यले विभिन्न सात सहरमा इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने घोषणा गरेको छ ।

  • बिराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा आगामी तीन वर्षभित्र कम्तीमा दुई हजार क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिनेछ ।

  • बहुप्रतीक्षित मूलपानी क्रिकेट रङ्गशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानीको मोडालिटी तय गरिने बजेटमा उल्लेख छ ।

खेलाडीलाई आजीवन निःशुल्क उपचार र विद्यालयस्तरदेखि नै तालिम

खेलाडीहरूको भविष्य र क्षमता विकासका लागि पनि बजेटमा महत्त्वपूर्ण प्याकेज ल्याइएको छ । खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीहरूलाई विद्यालयको आधारभूत तहदेखि नै छनौट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाइने भएको छ ।

यसैगरी, देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काउने खेलाडीहरूका लागि सरकारले ठुलो घोषणा गरेको छ । अबदेखि अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरूलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने भएको छ ।

राष्ट्रिय खेलकुदका लागि बजेट सुनिश्चित

सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद भव्य रूपमा सम्पन्न गर्न र मधेश प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारले पर्याप्त रकम छुट्याएको छ ।

"खेलकुद क्षेत्रको सम्रग विकासका लागि यस वर्ष रू. ४ अर्ब ३ करोड विनियोजन गरिएको छ । यसले नेपाली खेलकुदको जग बलियो बनाउन र खेलाडीको मनोबल उच्च राख्न मद्दत पुग्ने विश्वास लिइएको छ ।"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.