लेख विवरण

१६ औं राष्ट्रपति रनिङ सिल्ड: ४० स्वर्णसहित काठमाडौं बागमती प्रदेशस्तरीय टिम च्याम्पियन, एथलेटिक्समा लालीगुराँसको बर्चस्व

१६ औं राष्ट्रपति रनिङ सिल्ड: ४० स्वर्णसहित काठमाडौं बागमती प्रदेशस्तरीय टिम च्याम्पियन, एथलेटिक्समा लालीगुराँसको बर्चस्व

काठमाडौँ । काठमाडौं जिल्ला १६ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्न सफल भएको छ। ६ वटा विभिन्न खेलहरू समावेश गरिएको यस प्रतियोगितामा काठमाडौंले ऐतिहासिक प्रदर्शन गर्दै च्याम्पियनको ट्रफी उचालेको हो।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा काठमाडौंले कुल ४० स्वर्ण, ८ रजत र १० कांस्य पदक जित्दै शीर्ष स्थान हासिल गर्‍यो।

प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र ११ कांस्य पदकसहित ललितपुर दोस्रो भयो भने ६ स्वर्ण, ३ रजत र ११ कांस्य हात पार्दै धादिङ तेस्रो स्थानमा रहन सफल भयो।

एथलेटिक्स: काठमाडौंको दबदबा, लालीगुराँसका विद्यार्थीको सनसनीपूर्ण प्रदर्शन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एथलेटिक्सतर्फ पनि काठमाडौं नै टिम च्याम्पियन बन्यो। कुल २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा काठमाडौं एक्लैले २० स्वर्ण, ३ रजत र ५ कांस्य पदक आफ्नो पोल्टामा पार्‍यो।

लालीगुराँसको ऐतिहासिक सफलता: काठमाडौंले जितेको २० स्वर्णमध्ये १८ वटा स्वर्ण पदक मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीमा अध्ययनरत छात्र/छात्राहरूले जितेका हुन्।

एथलेटिक्समा २ स्वर्ण, ८ रजत र ६ कांस्यसहित चितवन दोस्रो तथा २ स्वर्ण र ३ रजतका साथ धादिङ तेस्रो भयो। त्यस्तै, मकवानपुर र दोलखाले समान १–१ स्वर्ण जिते।

विधागत उत्कृष्ट र नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

  • उत्कृष्ट खेलाडी (छात्र): काठमाडौंका निरज शाह (४ स्वर्ण - लालीगुराँस नेसनल एकेडेमी)

  • उत्कृष्ट खेलाडी (छात्रा): काठमाडौंकी अनिशा थारु (५ स्वर्ण - लालीगुराँस नेसनल एकेडेमी)

नयाँ कीर्तिमान: प्रतियोगितामा लालीगुराँस नेसनल एकेडेमीकै दुई खेलाडीले जुनियर राष्ट्रिय कीर्तिमान समेत कायम गरे। छात्रा त्रिपलजम्पमा अनिशा थारु र छात्र हाइजम्पमा अविनाश सुनारले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचेका हुन्।

भलिबल: छात्र र छात्रा दुवैमा काठमाडौंलाई उपाधि

भलिबल खेलतर्फ काठमाडौंले क्लिन स्वीप गरेको छ। छात्र र छात्रा दुवै विधाको उपाधि काठमाडौंले आफ्नो नाम गर्‍यो। भलिबलको छात्रतर्फ काठमाडौंका विजय भण्डारी र छात्रातर्फ सारिका कार्की उत्कृष्ट खेलाडी घोषित भए।

विजेताहरू पुरस्कृत

विजेता खेलाडी तथा टोलीलाई बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, पूर्व युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, र प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामालगायतले ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरे।

तीन दिनसम्म चलेको यस प्रतिष्ठित प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ वटा खेलहरूमा प्रतिस्पर्धा गराइएको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.