४२ औं राष्ट्रिय टेबलटेनिस: जुनियर यु–१९ मा जयस्नु र प्राज्नालाई स्वर्ण, टिम इभेन्टमा प्रहरीको बर्चस्व
काठमाडौँ । नेपाल आर्मीका जयस्नु महर्जन र नेपाल प्रहरीकी प्राज्ना महर्जनले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिप अन्तर्गत जुनियर यु–१९ सिंगल्सतर्फ स्वर्ण पदक जित्न सफल भएका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनल खेलमा आ-आफ्नो विधामा जित निकाल्दै ब्वाइजतर्फ जयस्नु र गर्ल्सतर्फ प्राज्नाले स्वर्ण जितेका हुन्।
जुनियर यु–१९ सिंगल्स: जयस्नु र प्राज्नाको सहज जित
ब्वाइजतर्फको रोमान्चक फाइनल भिडन्तमा आर्मीका जयस्नु महर्जनले बागमती प्रदेशका रिजन शाक्यलाई सीधा सेटमा ११–७, ११–२ र ११–८ ले पराजित गर्दै स्वर्ण पदक आफ्नो नाम गरे। यस विधामा गण्डकी प्रदेशका समिर खत्री तथा एपीएफका निश्चल थापा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए।
त्यस्तै, गर्ल्सतर्फको उपाधि भिडन्तमा प्रहरीकी प्राज्ना महर्जनले एपीएफकी क्यारिना सुवालमाथि ११–३, ११–५ र ११–८ को सहज जित दर्ता गरिन्। खेलमा कोशी प्रदेशकी सुलेखा ठाकुर र आर्मीकी सुरम्य शाक्य तेस्रो भए।
टिम इभेन्ट: पुरुष र महिला दुवैमा प्रहरी च्याम्पियन
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा जारी यस प्रतियोगिताको पुरुष र महिला दुवै टिम इभेन्टमा नेपाल प्रहरीको टोली पहिलो हुन सफल भएको छ।
-
पुरुष टिम इभेन्ट: फाइनल खेलमा प्रहरीले बागमती प्रदेशलाई ३–१ को सेटमा पाखा लगाउँदै स्वर्ण जित्यो। प्रहरीको विजेता टोलीमा संयोग कपाली, एलेक्स महर्जन र गनञ्जय दाहाल सामेल थिए। प्रतियोगितामा एपीएफ र कोशी प्रदेश तेस्रो स्थानमा रहे।
-
महिला टिम इभेन्ट: महिलातकी फाइनलमा पनि प्रहरीले कोशी प्रदेशलाई ३–१ ले पन्छायो। प्रहरीको तर्फबाट नविता श्रेष्ठ, सुस्मिता खड्का र रविना महर्जनले कोर्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
६ स्पर्धाको फाइनल सम्पन्न
प्रतियोगितामा हालसम्म ६ वटा स्पर्धाको फाइनल खेलहरू सम्पन्न भइसकेका छन्। यसअघि खेलिएको क्याडेट यु–१५ अन्तर्गत सिंगल्सको ब्वाइजतर्फ एपीएफका निश्चल थापा र गर्ल्सतर्फ नेपाल आर्मीकी सुरम्य शाक्यले स्वर्ण पदक जितिसकेका छन्।
टिप्पणी लेख्नुहोस्