राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात तेस्रो पटक आइपिएलको फाइनलमा, उपाधिका लागि आरसीबीसँग भिड्ने
काठमाडौँ । राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ। गुजरात आइपिएल इतिहासमा तेस्रो पटक फाइनल पुग्न सफल भएको हो। यसअघि टोलीले सन् २०२२ मा उपाधि जितेको थियो भने २०२३ मा उपविजेता बनेको थियो।
अब उपाधिका लागि गुजरातले आगामी मे ३१ (आइतबार) अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को सामना गर्नेछ। फाइनल खेलमा साविक विजेता आरसीबी आफ्नो उपाधि रक्षा गर्ने दाउमा मैदान उत्रिनेछ भने गुजरात दोस्रो पटक ट्रफी आफ्नो नाम गराउन चाहन्छ।
शुक्रबार मुल्लानपुरको महाराजा यदविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको दोस्रो क्वालिफायर खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रनको बलियो योगफल तयार पारेको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले ४७ बलमा ८ चौका र ७ छक्काको मद्दतले ९६ रनको विस्फोटक पारी खेले पनि टोलीलाई जिताउन सकेनन्।
२१५ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले कप्तान शुभमन गिल र साई सुदर्शनको उत्कृष्ट ब्याटिङ मद्दतमा १८.४ ओभरमै ३ विकेट गुमाएर २१९ रन बनाउँदै रोमान्चक जित दर्ता गर्यो। गुजरातका लागि कप्तान गिलले ५३ बलमा १५ चौका र ३ छक्का प्रहार गर्दै १०४ रनको शतकीय पारी खेले। त्यस्तै, साई सुदर्शनले ३२ बलमा ५८ रनको योगदान दिए। दुई ओपनरबीच पहिलो विकेटका लागि भएको १६७ रनको बलियो साझेदारी नै गुजरातको जितको मुख्य आधार बन्यो।
टिप्पणी लेख्नुहोस्