लेख विवरण

एसिसी इमर्जिङ कप : नेपाल पाकिस्तानसँग पराजित

एसिसी इमर्जिङ कप : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । एसिसी इमर्जिङ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १ सय ८० रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा मुहम्मद तय्यब ताहिरले अर्धसतकीय पारी खेल्दै ५१ रन बनाए । ६७ बलको सामना गरेका उनले ६ चौंका प्रहार गरे । नेपालका लागि ललित नारायण राजवंशीले ३ विकेट लिए । पवन सर्राफले २ तथा कुशल मल्लले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनाएको थियो । टोलीका लागि सोमपाल कामीले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ७५ रन बनाए । १ सय १ बलको सामना गर्ने क्रममा उनले ९ चौंका र २ छक्का प्रहार गरे । त्यस्तै प्रतिश जिसी (२६), गुलशन कुमार झा (१३) र मोहमद आसिफ शेखले (१२) रन बनाउँदा कुशल मल्ल र अर्जुन साउदले समान १७-१७ रन बनाए । पाकिस्तानका लागि शाहनवाज दहनीले ५ विकेट लिए । मोहम्मद वसीमले ४ तथा मुबासिर खानले १ विकेट लिए ।

एसियन क्रिकेट काउन्सील (एसीसी)ले आयोजना गरेको प्रतियोगितामा नेपालसँगै आयोजक श्रीलंका, भारत, पाकिस्तान, बङलादेश, अफगानिस्तान, युएई र ओमानका टोली रहेका छन् ।

प्रतियोगिता नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन् । अब नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्नेछ । सो खेल १७ जुलाईमा हुनेछ । समूह चरणको अन्तिम खेल १९ जुलाईमा नेपालले युएईसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल २१ र फाइनल खेल २२ जुलाईमा हुनेछ ।

 

थप समाचार :

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको जित, फाइनल पुग्ने सम्भावना बलियो

वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्णधारी सुमन सम्मानित

एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिने : खेलकुदमन्त्री लिम्बू

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.