भानुकप फुटबल : उद्घाटन खेलमा सेभेन स्टार विजयी
तनहुँ । आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा जिल्लामै सर्वाधिक धन राशिको भानुकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
भानु नगरपालिका १ भन्सार स्थित भानु रङ्गशालामा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा सेभेन स्टारले साबिक विजेता तनहुँ–११ लाई टाईब्रेकरमा ३–१ गोलले हरायो ।
सेभेन स्टारका गोलरक्षक रमेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालसिस्ने युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः दुई लाख २५ हजार दुई सय १०, एक लाख १२ हजार दुई सय १०, २० हजार दुई सय १० रुपियाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्तालाई २५ सय १० रुपियाँ प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरी आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा अनुशासित टिम घोषित गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
भानु जयन्तीका अवसरमा भानु रङ्गशालामा हरेक वर्ष फुटबलका साथै विविध प्रतियोगिताहरू आयोजना हुँदै आएको छ । सोही अनुसार यस वर्ष पनि निरन्तरता दिइएको हो ।
राष्ट्रिय विभूति भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई देश विदेशमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, गोरखा, चितवन लगायतका जिल्लाबाट गरी ३२ टिमको सहभागिता रहेको छ ।
थप समाचार :
हेल्प नेपाललाई राष्ट्रिय भलिबल क्लब लिगको उपाधि
नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने
नेपाल तेक्वान्दो संघको साधारणसभा सम्पन्न
प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसलाई
टेबलटेनिस खेलाडी सेलिशालाई आर्थिक सहयोग
श्रृजनशीलका जुडो खेलाडी र आश्रितलाई सहयोग
Write A Comment