नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारको दोस्रो जित
काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टारले दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आइतवार भएको खेलमा लुम्बिनीले बिराटनगर किंग्सलाई ३ रनले पराजित गर्यो । टोलीको जितमा खेलको म्यान अफ द म्याच बनेका श्रीलंकाली ब्याटसम्यान लाहिरु मिलान्थाले ८० रनको अविजित पारी खेले । अर्धसतक बनाएका उनले ६३ बलमा ५ चौंका र ४ छक्का प्रहार गर्दै ८० रन बनाए । लुम्बिनीको जितमा किशोर महतोले सर्वाधिक २ विकेट लिए । प्याट ब्रोन, गुलशन झा, सागर ढकाल र दिपेन्द्र सिंह ऐरिले समान एक एक विकेट लिए ।
त्यअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउदै १५७ रन बनायो । टोलीका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८० रनको योगदान दिए । कुशल भुर्तेल (२६), कप्तान दिपेन्द्र सिंह ऐरि (१६) र बिपुल शर्माले (११) रन बनाए । बिराटनगरका लागि बलिङमा नन्दन यादब, हुसेन तलत, शाहब आलम, सिकन्दर रजा र आन्द्रे मैकार्थीले समान एक एक विकेट लिए ।
लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पछ्याएको बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनायो । टोलीका लागि हुसेन तलतले सर्वाधिक ३९ रन बनाए । रोहित पौडेल (२५), पृथु बास्कोटा (१८), सिकन्दर रजा (१७), अर्जुन साउद (१०) र गौरांशु शर्मा (८) रन बनाएर आउट भए । कप्तान आन्द्रे मैकार्थी (११) र विवेक यादव (१२) रनमा अविजित रहे ।
यसअघि शनीवार आफ्नो पहिलो खेलमा लुम्बिनीले फार वेस्ट युनाईटेडलाई ६७ रनले पराजित गरेको थियो ।
पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् ।
डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगिताको विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्