लखनउ सुपरजायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हरायो
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल–१६) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा लखनउ सुपरजायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ । आईपीएलमा दिल्लीमाथि लखनउको यो लगातार तेस्रो जित हो। लखनउका लागि तिव्र गतिका बलर मार्क वुडले ५ विकेट लिए भने काइल मेयर्सले पहिलो इनिङ्समा ३८ बलमा ७३ रनको विस्फोटक इनिङ खेले ।
लखनउको एकना क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको एलएसजीले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा डिसीको टोलीले २० ओभरमा १४३ रन मात्र बनायो ।
घरेलु टोली लखनउका लागि ओपनर काइल मेयरले ३८ बलमा ७ छक्का प्रहार गर्दै ७३ रनको इनिङ खेले । मध्यक्रममा निकोलस पूरनले २१ बलमा तीन छक्का प्रहार गर्दै ३६ रन बनाए । इनिङ्सको अन्तिम ओभरमा आयुष बडोनीले दुई छक्का प्रहार गर्दै टोलीको स्कोर १९० रन पुर्याएका थिए । दिल्लीका लागि खलील अहमद र चेतन साकारियाले २–२ विकेट लिए ।
जवाफमा डेभिड वार्नर र पृथ्वी शाले दिल्लीलाई उत्कृष्ट सुरुवात गराए । टोलीले ४१ रनमा पृथ्वी शाको विकेट गुमाएको थियो । शालाई मार्क वुडले बोल्ड गरे । पृथ्वीलाई बोल्ड गरेपछि वुडले मिचेल मार्सलाई पनि शून्य रनमा प्याभिलियन पठाए । वुडले आफ्नो अर्को स्पेलमा सरफराजलाई विकेट लिएर दिल्लीको ढाड खुस्काउदा ४१ रनमा डिसीको टोली संकटमा पर्यो । अन्तमा वुडले अक्षर पटेल र चेतन साकरियालाई आउट गर्दै आफ्नो ५ विकेट पूरा गरे । मार्क वुड पछि, बाँकी विकेट आवेश खान र रवि बिश्नोईले लिए । दुवैले २–२ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत शनीवार भएको पहिलो खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ७ रनले पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्