एशेज टेस्टः पहिलो दिन अस्ट्रेलिया २ सय ६३ रनमा अलआउट
काठमाडौंँ । अस्ट्रेलिया र इंग्ल्याण्डबीच एशेज शृंखलाको तेस्रो टेष्ट खेल इंग्ल्याण्डको लिड्समा जारी छ । तेस्रो टेष्टको पहिलो दिन अस्ट्रेलिया २ सय ६३ रनमा अलआउट भएको छ । टोलीका लागि मिचेल मार्सले शतक प्रहार गरेका छन् ।
पहिलो दिनको खेल सकिदा आफ्नो पहिलो इनिङ्स सुरुवात गरेको इंग्ल्याण्डले ३ विकेट गुमाएर ६८ रन बनाएको छ । टोलीका लागि जो रुट (१९) र जोनी बेयरस्टो (१) रनमा अविजित रहेका छन् । पहिलो इनिङ्समा १ सय ९५ रन पछाडि रहेको इंग्ल्यान्डले दोस्रो दिनको खेल शुक्रबार (आज) दिउँसो ३ः४५ बजे सुरु गर्नेछ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाको शीर्ष क्रम पूर्ण रुपमा असफल रह्यो । ओपनिङ गर्न आएका डेभिड वार्नर आफ्नो टेस्ट करियरमा १६ औं पटक स्टुअर्ट ब्रोडको शिकार बने । उनी आउट स्विङ बलमा ज्याक क्राउलीको हातबाट क्याच आउट भए। वार्नरले मात्र ४ रन बनाए ।
अर्का ओपनर उस्मान ख्वाजा १३ रन बनाएर मार्क वुडको बलमा बोल्ड भए । दोस्रो टेस्टमा शतक प्रहार गरेका स्टिभ स्मिथ २२ रन बनाएर आउट भए । सोही क्रममा मार्नस लाबुसेन २१ रन बनाउदै क्रिस वोक्सको शिकार बने । यसरी अष्ट्रेलियाको ४ विकेट २५ ओभरमै खसेको थियो ।
सुरुवाती ओभरमा विकेट गुमाएको अस्ट्रेलियन पारीलाई मिचेल मार्स र ट्राभिस हेडले सम्हालेका थिए । दुवैले खेलमा १ सय १५ रनको साझेदारी गरे । हेड ३९ रन बनाएर आउट भए । उनीपछि विकेटकिपर एलेक्स केरी पनि ८ रन बनाएर प्याभिलियन फर्किए ।
मिचेल मार्सले ११८ रनको इनिङ खेले । उनका अलावा मिचेल स्टार्क २, कप्तान प्याट कमिन्स ० र टोड मर्फी १३ रन बनाएर आउट भए । स्कट बोल्याण्ड शून्य रन बनाएर अविजित रहे ।
इङ्ल्यान्डका मार्क वुडले बलिङमा उत्कृष्ट प्रदर्शन गरे । उनले ११.४ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । त्यस्तै क्रिस वोक्सले ३ र स्टुअर्ट ब्रोडले २ विकेट लिए ।
पहिलो दिन नै आफ्नो इनिङ्स सुरु गरेको इंग्ल्याण्डका लागि ओपनर बेन डकेट २ र ज्याक क्राउली ३३ रन बनाएर प्याभिलियन फर्किए । २४ वर्षीय ह्यारी ब्रुकले पनि ३ रन बनाउने क्रममा कमिन्सको शिकार भए । जो रुट १९ र जोनी बेयरस्टो १ रन बनाएर नटआउट भए । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले २ र मिचेल मार्सले १ विकेट लिए ।
तेस्रो टेष्टमा इंग्ल्याण्डले आफ्नो टोलीमा तीन परिवर्तन गरेको छ ।अनुभवी फास्ट बलर जेम्स एन्डरसन प्लेइङ ११ मा पर्न असफल रहे । उनको स्थानमा फास्ट बलर मार्क वुडले स्थान बनाए । क्रिस वोक्सले टोलीमा पुनरागमन गर्ने मौका पाए भने चोटका कारण दोस्रो टेस्ट खेल्न नपाएका मोइन अली तेस्रो टेस्टमा फर्किए ।
अष्ट्रेलियाका स्टार स्पिनर नाथन लियोनको ठाउँमा युवा खेलाडी टोड मर्फीले मौका पाए । लियोन चोटका कारण शृङ्खलाबाट बाहिरिएका छन् । यससँगै क्यामरुन ग्रीन पनि तेस्रो टेस्टबाट बाहिरिए, उनको स्थानमा मिचेल मार्सले मौका पाए। जोस हेजलवुडको स्थानमा स्कट बोल्याण्ड टोलीमा फर्किए ।
इंग्ल्याण्डको प्लेइङ ११ : ज्याक क्राउली, बेन डकेट, जो रुट, ह्यारी ब्रुक, बेन स्टोक्स (कप्तान), जोनी बेयरस्टो (विकेटकीपर), स्टुअर्ट ब्रोड, ओली रोबिन्सन, मोइन अली, क्रिस वोक्स र मार्क वुड।
अष्ट्रेलियाको प्लेइङ ११ : डेभिड वार्नर, उस्मान ख्वाजा, मार्नस लाबुसचेन, स्टीभ स्मिथ, ट्राभिस हेड, एलेक्स केरी (विकेटकीपर), मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), मिचेल मार्स, टोड मर्फी र स्कट बोल्याण्ड।

टिप्पणी लेख्नुहोस्