एकदिवसीय विश्वकपबारे निर्णय गर्न पाकिस्तानका प्रधानमन्त्रीद्वारा उच्चस्तरीय समिति गठन
काठमाडौंँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले एकदिवसीय विश्वकपमा भाग लिने वा नलिने निर्णय गर्न एक समिति गठन गरेका छन् । यस समितिमा सरकारका मन्त्री र गुप्तचर विभागका अधिकारीहरु पनि रहेका छन् । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले समितिको अध्यक्षता गर्नेछन् ।
समितिको मुख्य काम पाकिस्तानी टोलीको भारत भ्रमणका सम्बन्धमा आफ्नो सुझाव प्रस्तुत गर्नु हुनेछ । त्यसैका आधारमा पाकिस्तानका प्रधानमन्त्रीले यस विषयमा आफ्नो निर्णय लिनेछन् । गत हप्ता पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले सरकारलाई पत्र लेख्दै उनीहरूलाई भारत भ्रमण गर्न अनुमति दिइएको छ कि छैन र यदि अनुमति दिइएको छ भने पाकिस्तानी टोलीले खेल खेल्ने पाँच स्थानमध्ये कुनै एकमा आपत्ति छ कि छैन भनेर सोधेको थियो। उक्त पत्रमा सरकारले भारतमा सुरक्षा प्रतिनिधिमण्डल पठाउन चाहेको हो कि भनेर पनि सोधिएको थियो ।
समितिसामु सबैभन्दा महत्वपूर्ण कुरा के हो भने पाकिस्तानको टोली अक्टोबर १५ मा भारतविरुद्ध लिग म्याच खेल्न अहमदाबाद जाने वा नजाने भन्ने निर्णय गर्नुपर्नेछ । यसका साथै उसले पाकिस्तानले आफ्नो म्याच खेल्न लागेको सबै स्थानहरुको बारेमा पनि विचार गर्नेछ ।
विश्वकपको तालिका हेर्ने हो भने पाकिस्तानको टोलीले आफ्नो पहिलो दुई लिग खेल नेदरल्याण्ड्स र श्रीलङ्कासँग हैदरावादमा खेल्नेछ । त्यसपछि टोलीले अहमदाबादको यात्रा गर्नु पर्नेछ, जहाँ उसले भारतीय टोलीको सामना गर्नेछ । त्यस्तै टोलीले अस्ट्रेलिया र न्युजिल्यान्डसँग बेंग्लोरमा खेल्नुपर्ने छ । यसबाहेक कोलकातामा बंगलादेश र इंग्ल्यान्डसँग खेल्नेछ, त्यसपछि चेन्नईमा अफगानिस्तानसँग खेल्नेछ ।
परराष्ट्र मन्त्री जरदारी, गृहमन्त्री राना सनाउल्लाह र कानून तथा न्याय मन्त्री आजम नाजिर तरारको नाम पनि समितिमा रहेको छ । एहसान योर रहमान मजारी, मरियम औरंगजेब, असद महमुद, अमिनुल हक, कमर जमान कायरा र प्रधानमन्त्रीका विदेश मामिलासम्बन्धी विशेष सहायक तारिक फातेमी पनि समितिमा रहेका छन् ।
क्रिकेट टोलीको भारत भ्रमणका लागि यस्तो उच्चस्तरीय समिति गठन गरिएको यो पहिलो पटक भएको विश्वास गरिएको छ । सामान्यतया पीसीबीले भारत भ्रमण गर्नुअघि विदेश मन्त्रालयसँग परामर्श गर्छ । तर, एउटा कुरा निश्चित छ कि जब पनि पाकिस्तानी टोली भारत भ्रमणमा जान्छ, सरकारको निर्णय निकै महत्वपूर्ण हुन्छ ।
थप समाचार :
मोर्डन पेन्टाथलनमा श्रेष्ठ निर्विरोध
महिला सेल्फ डिफेन्स तालिम शनिबार सम्पन्न

टिप्पणी लेख्नुहोस्