हेल्प नेपाललाई राष्ट्रिय भलिबल क्लब लिगको उपाधि
काठमाडौं । टिप टप हेल्प नेपालले सातौँ एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् (राखेप) कभर्डहल कोर्टमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन बनेको हो ।
फाइनलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । हेल्प नेपालले २५–१९, ११–२५, २५–१८, २५–१८ को नजिता निकाल्न सफल भयो । उपाधिसँगै हेल्प नेपालले ६ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले तीन लाख रुपियाँमा चित्त बुझायो । तेस्रो भएको आर्मीले एक लाख ५० हजार र चौथो भएको एपिएफले ७५ हजार रुपियाँ पुरस्कार पायो ।
पुरुषतर्फ विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबसँगै, साबिक विजेता आर्मी, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप र दावाँली मिलन क्लब काठमाडौं गरी सात टोलीको सहभागिता रहेको थियो ।
यसैगरी महिलातर्फ पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो । पुलिसले २५–१२, २१–२५, २५–२३, २५–१९ को नतिजा निकालेको थियो । उपाधिसँगै पुलिसले ६ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता एपिएफले तीन लाख, तेस्रो भएको न्यू डायमन्डले एक लाख ५० हजार र चौथो भएको त्रिभुवन आर्मीले ७५ हजार रुपियाँ पुरस्कार पायो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिलातर्फ पुलिसकी पुनम चन्द र पुरुषतर्फ हेल्प नेपालका अईमल खान घोषित भए । सर्वोत्कृष्ट दुवैलाई जनही ३५ हजार रुपियाँ प्रदान गरियो ।
यस्तै नेपाल पुलिसकी शान्तिकला तामाङ्ग उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाईकर, रुपेश बिष्ट उत्कृष्ट प्रशिक्षक र सुमित्रा रेग्मी उदिमान खेलाडी घोषित भए । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए ।
पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाईकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदियमान खेलाडीमा पुलिसका रविन चन्द चुनिए । विधागततर्फका उत्कृष्ट सबैले जनही १५ हजार र उदियमान खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
लिगमा महिलातर्फ नेपाल पुलिस क्लब, होङ्गवाङ्गजी न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीले भाग लिएका थिए ।
थप समाचार :
नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने
नेपाल तेक्वान्दो संघको साधारणसभा सम्पन्न
प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसलाई
टेबलटेनिस खेलाडी सेलिशालाई आर्थिक सहयोग

टिप्पणी लेख्नुहोस्