लेख विवरण

पहिलो टेस्टको दोस्रो दिन पाकिस्तानले गर्यो पुनरागमन

पहिलो टेस्टको दोस्रो दिन पाकिस्तानले गर्यो पुनरागमन

काठमाडौंँ । श्रीलंका र पाकिस्तानबीच गाले क्रिकेट स्टेडियममा दुई खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेल जारी छ । पहिलो दिनको खेलमा ३१२ रनमा अलआउट भएको श्रीलंकाले दोस्रो दिन बलियो बलिङ गर्दै १०१ रनमा पाकिस्तानको ५ विकेट खसालेको थियो । त्यसपछि पाकिस्तानी टोलीले बलियो पुनरागमन गर्दै खेलको माहोल नै परिवर्तन गरेका थिए ।

दोस्रो दिनको खेल समाप्त हुँदा पाकिस्तानको स्कोर ५ विकेटमा २२१ रन रहेको छ । अहिले टोली श्रीलंकाभन्दा ९१ रन मात्र पछाडि रहेको छ । क्रिजमा पाकिस्तानका साउद शकील ६९ र आगा सलमान ६१ रनमा अविजित रहेका छन । यी दुईबीच १२० रनको साझेदारी भएको छ ।

यसअघि श्रीलंकाले दिएको ३१२ रनको जवाफमा पाकिस्तानको सुरुवात खराब रह्यो । टोलीको पहिलो विकेट तीन रनमै खसेको थियो । ओपनर इमाम उल हक एक रन बनाएर आउट भए । त्यसपछि दोस्रो विकेट ४७ रनमा खसेको थियो । अर्का ओपनर अब्दुल्लाह शफिक मात्र १९ रन बनाएर प्याभिलियन फर्किए ।

४७ रनको स्कोरमा दुई विकेट खसेपछि पाकिस्तानको इनिङस सम्हाल्ने जिम्मेवारी कप्तान बाबर आजमको काँधमा आयो । तर, बाबरले पनि टोलीलाई निराश बनाए । उनी १३ रन बनाएर आउट भए । लगत्तै शानदार ब्याटिङ गरिरहेका शान मसुद व्यक्तिगत ३८ रनको स्कोरमा आउट भए । यसरी पाकिस्तानले ७३ रनमा चार विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका सरफराजको ब्याट पनि खासै चलेन । उनले १५ बलमा तीन चौकाको मद्दतले १७ रन बनाएर आउट भए ।

पाकिस्तानको आधा टोली १०१ रनमा आउट भएपछि क्रिजमा आएका साउद शकील र आगा सलमानले सम्हालिएर खेल्दै खेलमा अग्रता लिए । दुबैले प्रति ओभर करिब पाँच रनको औसतमा स्कोर अगाडी बढाए । उनीहरुले १४८ बलमा १२० रनको साझेदारी गरे । शकीलले आफ्नो ६९ रनको पारीमा ६ चौका प्रहार गरे । योसँगै सलमानले ६१ रनको पारीमा ६ चौका र एक छक्का प्रहार गरे । श्रीलंकाका लागि प्रभात जयसूर्याले सर्वाधिक ३ विकेट लिए ।

 

थप समाचार :

नेपाल भारतसँग ९ विकेटले पराजित

भारतविरुद्ध रोहितले बनाए अर्धसतक

राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद सहित सम्मान

विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्कारोजलाई

बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण सिरिज जितेर फुटबल टोली स्वदेश फर्कियो

एसीसी इमर्जिङ एसिया कप : भारतविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै

टिप्पणी लेख्नुहोस्

Please Login to comment.