लेख विवरण

क्याम प्रिमियर लिग : द नेक्स्ट राइजिङ क्रिकेट क्लब ३ विकेटले विजयी

क्याम प्रिमियर लिग : द नेक्स्ट राइजिङ क्रिकेट क्लब ३ विकेटले विजयी

सिडनी । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा द नेक्स्ट राइजिङ क्रिकेट क्लब विजयी भएको छ । आइतवार भएको खेलमा द नेक्स्ट राइजिङले बुद्धभूमि क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

एभर्ली पार्कमा बुद्धभूमिले दिएको १ सय १९ रनको लक्ष्य द नेक्स्ट राइजिङले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा अंकित श्रेष्ठले सर्वाधिक ६५ रनको योगदान दिए । अर्धसतक बनाएका अंकितले ५८ बलको सामना गर्ने क्रममा ३ चौंका र ३ छक्का प्रहार गरे । सन्देश आचार्य (१३), नबिल खान (९) र पुस्तम उप्रेतीले (६) रन बनाउदा दिपान्शु बहादुर बम (५) रनमा अविजित रहे । बुद्धभूमिका लागि सागर शर्माले ३ विकेट लिए । युवराज मल्ल, विवेक यादव र नितेश थापाले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बुद्धभूमिले १९.३ ओभरमा अलआउट हुँदै १ सय १८ रन बनाएको थियो । टोलीका लागि नितेश थापा (३८), निशान्त आमात्य (२४) र बिजय कट्टेलले (१८) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । द नेक्स्ट राइजिङका लागि नबिल खानले ३.३ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सन्देश आचार्यले २ विकेट लिए । दिपेन्द्र थापा र दिपान्शु बहादुर बमले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच द नेक्स्ट राइजिङका अंकित श्रेष्ठ भए ।

प्रतियोगिता अन्तर्गत आइतवार नै भएको खेलमा वेस्ट युनाइटेडले एक्स्ट्राटेक क्रिकेट क्लबलाई ३१ रनले तथा अमडाब्लमले आयोजक क्याम युथ क्रिकेट क्लबलाई १०१ रनले पराजित गरेको थियो ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.