एसिसी इमर्जिङ एसिया कपका लागि नेपाली टोली घोषणा
काठमाडौंँ । एसिसी इमर्जिङ एसिया कप २०२३ प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको टोलीको नेतृत्व नियमित कप्तान रोहित पौडेलले गर्नेछन । टोलीमा नियमितसँगै केही नयाँ खेलाडीहरुलाई पनि क्यानले समेटेको छ ।
घोषणा गरिएको टोलीमा एकदिवसीय विश्वकप छनोटमा मात्र २ खेल खेल्न पाएका विकेट किपर तथा ब्याटसम्यान अर्जुन साउदले निरन्तरता पाएका छन । त्यस्तै यु १९ टोलीका कप्तान देव खनालले पनि टोलीमा पुनरागमन गरेका छन् । क्यानले यसपटक श्याम ढकाललाई पहिलो पटक टोलीमा समावेश गरेको छ । लामो समय देखी टोली बाहिर रहेका सुर्य तामाङ र सन्दीप जोरा यस पटक राष्ट्रिय टोलीमा अटाएका छन् ।
सन्दीप लामिछाने, करण केसी, ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरि टोली बाहिर रहेका छन । सन्दीप र दिपेन्द्र ग्लोवल टी २० लिग खेल्ने क्यानडा जाने भएकाले उनीहरुले एसिसी इमर्जिङ एसिया कप नखेल्ने बुझिएको छ ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र ओमानका टोलीले खेल्नेछन् । प्रतियोगिताका खेलहरु एकदिवसीय ढाँचा अर्थात ५० ओभरको फरम्याटमा हुनेछ । श्रीलंकामा आयोजना हुने प्रतियोगिता जुलाई १३ देखि २३ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन । नेपालले आफ्नो पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए विरुद्ध खेल्नेछ । त्यस्तै दोस्रो खेल जुलाई १७ मा युएईविरुद्ध खेल्नेछ । नेपालले समुह चरणको अन्तिम खेल जुलाई १९ मा भारत ए विरुद्ध खेल्नेछ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अर्जुन साउद, कुशल मल्ल, आशिफ शेख, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भिम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजबंशी, किशोर महतो, सन्दीप जोरा र सुर्य तामाङ ।
थप समाचार :
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
सन्दीप र दिपेन्द्रले एसीसी इमर्जिङ टिम एसिया कप गुमाउने
नेपाली टोलीलाई जनही ५० हजार पुरस्कार दिने क्यानको घोषणा
नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

टिप्पणी लेख्नुहोस्