भारतले तटस्थ स्थानमा खेल्ने माग नत्यागेमा, हामी पनि विश्वकप खेल्न जाँदैनौ : खेलकुद मन्त्री एहसान मजारी
काठमाडौंँ । भारतमा अक्टोबर ५ देखि सुरु हुने एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानको सहभागिता बिषयमा अहिले पनि शंका उपशंका कायमै रहेको छ । पाकिस्तानका खेलकुद मन्त्री एहसान मजारीले भारतले एसिया कप खेल तटस्थ स्थानमा खेल्ने माग नत्यागेमा, हामी पनि विश्वकप खेल्न भारत नजाने बताएका छन् ।
इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा मजारीले भने – 'प्रधानमन्त्री शाहबाज सरिफले विदेशमन्त्री बिलावल भुट्टो जरदारीको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेका छन् । जसमा मसँगै जम्मा ११ मन्त्रीहरु पनि रहेका छन् ।'
मजारीले भने, 'पाकिस्तानले भारतमा क्रिकेट खेल्ने कि नखेल्ने भन्ने विषयमा हामीले छलफल गर्नेछौं। त्यसपछि हामीले हाम्रो सुझाव प्रधानमन्त्रीलाई पठाउने छौं। त्यसैका आधारमा पाकिस्तानी क्रिकेट टोलीलाई विश्वकपमा पठाउने अन्तिम निर्णय प्रधानमन्त्रीले गर्नेछन् ।'
उनले भने, 'पीसीबी मेरो विभाग अन्तर्गत पर्दछ । मेरो विचारमा भारतले पनि एसिया कपका खेलहरू तटस्थ स्थानमा खेलाउने माग त्याग्नुपर्छ, अन्यथा हामी पनि पाकिस्तानको विश्वकप खेलहरू भारतको सट्टा तटस्थ स्थानमा खेलाउन माग गर्नेछौं।'
पाकिस्तानी प्रधानमन्त्रीले बनाएको समितिमा खेलकुद मन्त्री एहसान मजारी बाहेक पाकिस्तानका कैयौं मन्त्री र सुरक्षा निकायका प्रमुखहरु रहेका छन् । समितिमा पाकिस्तान सरकारमा संलग्न अन्य दलका प्रतिनिधि पनि रहनेछन् । समितिको अध्यक्षमा परराष्ट्रमन्त्री बिलावल भुट्टो जर्दारी रहेका छन् ।
छानबिन गर्न समिति कहिले भारत आउँछ भन्नेबारे अहिलेसम्म जानकारी आएको छैन । तर समितिको छानबिनपछि मात्रै पाकिस्तानी टोली विश्वकप खेल्न भारत आउने वा नआउने तय हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जुन २७ मा विश्वकपको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ । यसबाहेक पाकिस्तानले लिग चरणका बाकि ८ खेलहरु चार शहर हैदरावाद, बैंगलोर, चेन्नई र कोलकातामा खेल्नुपर्नेछ।
एसियन क्रिकेट काउन्सिलले विश्वकपअघि एसिया कप श्रीलंका र पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको थियो । यसअन्तर्गत पाकिस्तानमा प्रतियोगिताका ४ खेल मात्र हुनेछन् । बाँकी ९ खेल श्रीलंकामा हुनेछन् ।
समूह चरणका चार खेल पाकिस्तानमा हुनेछन् । जसमा एउटा समूहबाट नेपाल र पाकिस्तान र अर्को समूहबाट अफगानिस्तान र बंगलादेश, अफगानिस्तान र श्रीलंका र बंगलादेश र श्रीलंकाबीचको खेल हुनेछ ।
३१ अगस्टदेखि १७ सेप्टेम्बरसम्म हुने यस प्रतियोगिताको पूर्ण तालिका भने सार्वजनिक गरिएको छैन ।
थप समाचार :
क्रिकेट खेलाडीहरुलाई एसपीएको सम्मान
नेपाली फ्यानले विशेष तरिकाले मनाए क्याप्टेन कुलको जन्मदिन
बंगलादेशलाई पराजित गर्दै अफगानिस्तानले जित्यो एकदिवसीय सिरिज

टिप्पणी लेख्नुहोस्