एसियन गेम्स क्रिकेटमा एसियाका शीर्ष चार टोलीले सोझै क्वाटरफाइनल खेल्ने, यस्तो छ तालिका
काठमाडौंँ । एसियन गेम्स क्रिकेटमा आइसिसी वरियतामा रहेका शीर्ष चार टोलीले सोझै क्वाटरफाइनल खेल्ने भएका छन् । एसियन ओलम्पिक कमिटीको नियमअनुसार वरियतामा एसियाका शीर्ष चार महिला र पुरुष टोलीले सीधै क्वाटरफाइनल प्रवेश पाउनेछन् ।
एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझोउमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको पिङफेङ क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा महिलातर्फ १४ र पुरुषतर्फ १८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरु टी–२० फर्म्याटमा खेलाइनेछ र एक दिनमा दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ः३० र दोस्रो खेल दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।
एसियन ओलम्पिक कमिटीका अनुसार सन् २०२३ को जुन १ सम्म आइसिसी वरियतामा रहेका एसियाका शीर्ष चार टोलीले सिधै क्वाटरफाइनलमा प्रवेश पाउनेछन् । यही समय सीमा अनुसार बाँकी टोलीको वरियता र खेलको पनि टुङ्गो लाग्नेछ ।
प्रतियोगितामा महिलातर्फ एसियाका शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन् । बाँकी १० टोलीले क्वालिफायर राउण्ड खेल्नेछन् । क्वालिफायर राउण्डका ६ खेलहरु सेप्टेम्बर १९ देखि २१ सम्म हुनेछन् । सेप्टेम्बर २२ र २४ मा ४ क्वाटरफाइनल खेल हुनेछ । आइसिसी टी–२० वरियतामा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश एसियाको शीर्ष चारमा रहेकाले उनीहरूले सिधै क्वाटरफाइनल खेल्नेछन् ।
एसियन गेम्सको उदघाटन सेप्टेम्बर २३ मा हुने भएकोले यस दिन कुनै पनि क्रिकेट खेल हुने छैन । क्वाटरफाइनलपछि सेप्टेम्बर २५ मा दुई सेमिफाइनल र २६ मा फाइनल खेल हुनेछ । फाइनलको दिन तेस्रो स्थानका लागि पनि खेल हुनेछ । प्रतियोगितामा महिलातर्फ कुल १४ खेल हुनेछन् ।
महिला क्रिकेट प्रतियोगिता सकिएपछि पुरुषतर्फका खेलहरु सेप्टेम्बर २८ देखि सुरु हुनेछ । जसमा एसियाका शीर्ष ४ टोलीले सिधै क्वाटरफाइनल खेल्नेछन् । बाँकी १४ मध्ये ४ टोली क्वालिफायर चरणबाट क्वाटरफाइनलमा पुग्नेछन् । क्वालिफायर चरणका १० खेल अक्टोबर २ सम्म हुनेछन् भने अक्टोबर ३ मा रेस्ट डे हुनेछ ।
प्रतियोगितामा अक्टोबर ४ र ५ का दिन क्वाटरफाइनल खेल हुनेछ । सेमिफाइनल अक्टोबर ६ मा र फाइनल अक्टोबर ७ मा खेलाइनेछ । फाइनलअघि तेस्रो स्थानका लागि खेल हुनेछ । यसरी पुरुषतर्फ कुल १८ खेल हुनेछन् ।
भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश एसियाका शीर्ष चार टोली हुन् । त्यसैले यी टिमले पनि सिधै क्वाटरफाइनल खेल्नेछन् भने नेपाल, अफगानिस्तान, युएई, हङकङ र चीनजस्ता टोलीले क्वालिफायर चरण खेल्नुपर्नेछ ।
थप समाचार :
एसीसी इमर्जिङ एसिया कप : नेपालले सोमबार भारतको सामना गर्दै
स्की सङ्घमा श्रेष्ठकै निरन्तरता
दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बङ्गलादेशलाई हरायो
डेभिड बेकह्यामको क्लब मियामीमा अनुबन्धित भए मेस्सी
एनआरएस स्पोर्टस फाउन्डेसनद्धारा धावकहरुका लागि प्रशिक्षण सन्चालन
Write A Comment