लेख विवरण

क्याम प्रिमियर लिग : जिएनआर क्रिकेट क्लब विजयी

क्याम प्रिमियर लिग : जिएनआर क्रिकेट क्लब विजयी

सिडनी । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा जिएनआर क्रिकेट क्लब विजयी भएको छ । आइतवार भएको खेलमा जिएनआरले चितवन राइनोज क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको हो ।

ब्रेसिंगटन पार्कमा टस जितेर ब्याटिङ गरेको जिएनआरले निर्धारित १८ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । जवाफमा चितवन राइनोज १७.५ ओभर ९६ रन बनाउदै अलआउट भयो । जिएनआरको जितमा नारायण ओलीले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । निरज भट्टराई र बिष्णु कुमार कटुवालले २–२ विकेट लिए । अनुरोध तिवारी र अग्रज दाहालले समान १–१ विकेट लिए । चितवन राइनोजका लागि अनिल पाठक (३३), शुशिल कलवार (११) र बिशाल अधिकारी (१०) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको जिएनआरका लागि बिष्णु कुमार कटुवालले सर्वाधिक ४१ रनको योगदान दिएका थिए । ३० बलको सामना गरेका बिष्णुले ७ चौंका प्रहार गरे । कुशल पोखरेलले पनि टोलीका लागि ३९ रनको योगदान दिए । निरज भट्टराईले २० रन बनाउदा अनुरोध तिवारी (९) र अग्रज दाहाल (२) रनमा अविजित रहे । चितवन राइनोजका रबिन साह, बिशाल अधिकारी, प्रज्ञान श्रेष्ठ र गौरव सापकोटाले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच जिएनआरका बिष्णु कुमार कटुवाल भए ।

प्रतियोगिता अन्तर्गत आइतवार नै भएको खेलमा द नेक्स्ट राइजिङले बुद्धभूमि क्रिकेट क्लबलाई ३ विकेट, वेस्ट युनाइटेडले एक्स्ट्राटेक क्रिकेट क्लबलाई ३१ रन र अमडाब्लमले आयोजक क्याम युथ क्रिकेट क्लबलाई १०१ रनले पराजित गरेको थियो ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.