नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सार्वजनिक
काठमाडौँ । खेल पत्रकार नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक विमोचन भएको छ । शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा अर्यालले लेखेको उक्त पुस्तक मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताए ।
पुस्तकको विमोचन गर्दै उनले सरकार र निजी क्षेत्र नमिलीकन नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताए ।
“निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको छ, सबै मिलेर खेलकुद क्षेत्रको विकासमा जुट्नुपर्छ”, मन्त्री लिम्बूले भने । उनले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताए । इमान्दार प्रयासका साथ आफू नेपालको खेल क्षेत्रको विकासमा लागेको उनको भनाइ थियो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले सरकारले खेलकुद क्षेत्रमा कम लगानी गरेको भन्दै अहिलेको लगानीले खेलकुद क्षेत्रको विकास हुन नसक्ने बताए । उनले साउथ एशियन खेल नेपालले सुरुआत गरेको स्मरण गर्दै नेपालको खेल क्षेत्रको विकासमा शरदचन्द्र शाहको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । वरिष्ठ पत्रकार एवं समालोचक पी खरेलले पुस्तकले नेपालको खेलकुद क्षेत्रको इतिहासलाई उजागर गर्न खोजेको बताए ।
पुस्तकका लेखक अर्यालले राणाकालदेखि पञ्चायतकालसम्मको खेलकुदलाई पुस्तकमार्फत समेटिएको उल्लेख गरे । पुस्तकलाई तथ्यगत रूपमा ओजपूर्ण बनाउन आफूले सक्दो प्रयास गरेको उनले बताए । ‘‘वास्तवमै इतिहास लेख्न गाह्रो रहेछ । विश्वमै खेलकुद साहित्य कम लेखिन्छ । अझ नेपालमा खेलकुदको इतिहासको पर्याप्त दस्ताबेज नै छैन । यस्तो अवस्थामा देश बाहिर गएर तथ्य संकलन गर्न कठिन भयो,’’ अर्यालले भने ।
नेपाली खेलकुदको इतिहासबारे तयार पारिएको खोजमूलक पुस्तकको प्रकाशन क्रिएटिभ बुक्सले गरेको हो । पुस्तकको मूल्य ६२५ रुपैयाँ र हार्डकभरको एक हजार २५ रुपैयाँ राखिएको छ ।
थप समाचार :
प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिसको लगातार तेस्रो जित
एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु
नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण
एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल तल झर्यो
महिला फुटबल टोली बङ्गलादेश प्रस्थान
दोस्रो संस्करणको किंग्स कप भलिबल प्रतियोगिता हुने

टिप्पणी लेख्नुहोस्