लेख विवरण

एसिसी इमर्जिङ कप : यश धुलको शतकमा भारतले युएईलाई हरायो

एसिसी इमर्जिङ कप : यश धुलको शतकमा भारतले युएईलाई हरायो

काठमाडौंँ । एसीसी इमर्जिङ एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ । श्रीलंकामा जारी प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा भारत–ए ले युएई–ए लाई ८ विकेटले पराजित गरेको छ । भारतको जितमा कप्तान यश धुल र दाहिने हाते फास्ट बलर हर्षित राना नायक बने । धुलले उत्कृष्ट शतक प्रहार गरे । उनी १०८ रन बनाएर अविजित रहे । हर्षितले चार विकेट लिए । भारत–ए ले अब आफ्नो दोस्रो खेल नेपालसँग सोमबार (१७ जुलाई)मा खेल्नेछ । त्यसपछि जुलाई १९ मा पाकिस्तानसँग खेल्नेछ ।

भारत ‘ए’का कप्तान यश धुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि युएई(ए ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १७५ रन बनाएको थियो । टोलीका लागि कप्तान एभी चिदम्बरमले सर्वाधिक ४६ रन बनाए । आर्यनश शर्माले ३८ र मोहम्मद फराजुद्दीनले ३५ रन बनाए । जस ग्यानानीले १३ र अली नासेरले १० रनको योगदान दिए । टोलीका ६ ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् । जावादुल्लाह ९, अंश टण्डन ५, सञ्चित शर्मा, लवप्रीत सिंह र आदित्य शेट्टीले २–२ रन बनाए । जोनाथन फिग्गीले खाता खोल्न सकेनन् ।

कप्तान यश धुलले पहिले बलिङ गर्ने लिएको निर्णयलाई भारतका बलरहरूले सही सावित गराए। टोलीका लागि हर्षित राणाले ४१ दिएर ४ विकेट लिए । तीब्र गतिका बलर नितिश कुमार रेड्डीले ३२ रनमा दुई विकेट लिए । त्यस्तै बायाँ हाते अर्थोडक्स बलर मानव सुथारले २८ रनमा दुई विकेट लिए । आकाश सिंहले एक सफलता हात पारे ।

१७६ रनको लक्ष्य भारतले २६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। भारतका दुवै ओपनर साई सुदर्शन र अभिषेक छिटै प्याभिलियन फर्किए । सुदर्शनले ८ र अभिषेकले १९ रन बनाए । ४१ रनमा २ विकेट खसेपछि कप्तान यश धुल र निकिन जोसले खेलमा अग्रता लिए । दुवैले तेस्रो विकेटका लागि १३८ रनको साझेदारी गरे । धुलले ८४ बलमा अविजित १०८ रन बनाए । उनले आफ्नो पारीमा २० चौका र एक छक्का प्रहार गरे। निकिन जोसले ५३ बलमा अविजित ४१ रन बनाए । उनले पाँच चौका प्रहार गरे ।

यसअघि आजै भएको खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ ।

एसियन क्रिकेट काउन्सील (एसीसी)ले आयोजना गरेको प्रतियोगितामा नेपालसँगै आयोजक श्रीलंका, भारत, पाकिस्तान, बङलादेश, अफगानिस्तान, युएई र ओमानका टोली रहेका छन् ।

प्रतियोगिता नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन् । अब नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्नेछ । सो खेल १७ जुलाईमा हुनेछ । समूह चरणको अन्तिम खेल १९ जुलाईमा नेपालले युएईसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल २१ र फाइनल खेल २२ जुलाईमा हुनेछ ।

 

थप समाचार :

टेबलटेनिस खेलाडीलाई सम्मान तथा बिदाइ

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्ने

साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने

मुख्यमन्त्री पाण्डेद्वारा भानु कपको उद्घाटन

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

बागमती प्रदेश हाप्किडो संघमा गुरुङ

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.