भारतले पाकिस्तानलाई ८ विकेटले हरायो, साई सुदर्शनले खेले १०४ रनको अविजित इनिङ
काठमाडौंँ । एसिसी इमर्जिङ एसिया कपमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै भारतीय ‘ए’ टोलीले पाकिस्तान ‘ए’ टोलीमाथि ८ विकेटको जित दर्ता गरेको छ। कोलम्बोको आर प्रेमदासा स्टेडियममा भएको खेलमा भारत ‘ए’ टोलीलाई २०६ रनको लक्ष्य दिइएको थियो, जुन टोलीले साई सुदर्शनको १०४ रनको शानदार इनिङ्सको आधारमा सजिलै पूरा गर्यो । अब भारतीय टोलीले सेमिफाइनल खेल बंगलादेश ‘ए’ टिमसँग २१ जुलाईमा खेल्नेछ ।
खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान ए टिम ४८ ओभरमा २०५ रनमा सिमित भएको थियो । त्यसपछि साई सुदर्शन र अभिषेक शर्माको ओपनिङ जोडीले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै लक्ष्य पछ्याएको भारतीय ‘ए’ टोलीलाई उत्कृष्ट सुरुवात गराएको थियो । अभिषेक २० रनको इनिङ खेल्दै मुबासिर खानको शिकार बने ।
अभिषेक शर्मा प्याभिलियन फर्किएपछि साई सुदर्शनले निकिन जोसको साथ पाए र दुवैले इनिङ्सलाई अगाडि बढाउने कार्य जारी राखे । यी दुईबीच दोस्रो विकेटका लागि ९९ रनको साझेदारी भयो । खेलमा ५३ रनको उत्कृष्ट इनिङ खेल्दै निकिन मेहरान मुमताजको शिकार बने ।
त्यसपछि साई सुदर्शन र कप्तान यश धुलले टोलीलाई थप झट्का लाग्न दिएनन् र ८ विकेटले जित हात पारे । सुदर्शनले ११० बलमा १०४ रनको उत्कृष्ट इनिङ खेले । पाकिस्तानका लागि मुबासिर खान र मेहरान मुमताजले १–१ विकेट लिए ।
पाकिस्तानी इनिङ्सको कुरा गर्दा खेलमा टोली भारतीय बलिङ आक्रमणको अगाडि पूर्ण रुपमा संघर्ष गरिरहेको देखियो । टोलीले ७८ रनको स्कोरसम्म आफ्नो आधा टोली गुमाएको थियो। त्यसपछि कासिम अकरमको ४८, मुबासिर खानको २८ र मेहरान मुमताजको २५ रनको सहयोगमा पाकिस्तान २०५ रनको स्कोरमा पुग्न सफल भयो। भारतका लागि बलिङतर्फ राजवर्धन हंगेरगेकरले ५, मानव सुथारले ३ तथा रियान पराग र निशान्त सिन्धुले १–१ विकेट लिए ।
थप समाचार :
टेस्ट क्रिकेटमा ब्रोडको ६ सय विकेट पुरा
एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने
सदस्य–सचिव घिसिङद्वारा आर्चरी, बक्सिङ र रग्बीको तयारी निरीक्षण
सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या : सदस्यसचिव वाग्ले
मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन
व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्रा भण्डारीको बिदाइ
Write A Comment