युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई २५ लाख प्रायोजन गर्यो
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपाल लिमिटेडले २५ लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ । युनिलिभरले नेपालमा महिला फुटबल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रायोजन गरेको हो ।
प्रायोजनसम्बन्धी सम्झौता पत्रमा मङ्गलबार युनिलिभर नेपालका कार्यकारी निर्देशक आमलाल मुखर्जी र एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि गरिएको हो । सम्झौता अनुसार युनिलिभरले एन्फामार्फत महिला फुटबल टोलीलाई आर्थिक सहयोग प्रदान गर्ने र एन्फाले युनिलिभरको बजार प्रवर्द्धनमा सहयोग गर्नेछ ।
दुई पक्षबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री लिम्बूले युनिलिभरले महिला फुटबलमा गरेको सहयोगको लागि उच्च सम्मान रहेको बताए ।
‘‘महिला खेलाडीले सीमित स्रोत साधनबीच देशको नाम उच्च बनाउन कडा मिहेनत गर्नुभएको छ । सरकारले खेलाडीलाई पर्याप्त सहयोग गर्न सकिरहेको अवस्था छैन । खेलकुदको विकासका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहयोगको आवश्यकता छ । युनिलिभर जस्तै निजी क्षेत्रको सहयोगले खेलकुद माथि जाने हो । खेलकुदको सुधार र विकासका लागि सरकारले खेलाडीको बीमा, भौतिक संरचना निर्माण र चुस्त व्यवस्थापन जस्ता कार्यमा विशेष ध्यान दिनेछ,’’ मन्त्री लिम्बूले भने ।
यस्तै राष्ट्रिय टोलीकी कप्तान एञ्जीला तुम्बापो सुब्बाले युनिलिभरको सहयोगले महिला फुटबल खेलाडीमा उत्साह थपेको बताए । उनले यस्तो सहयोगले महिला सशक्तीकरण र भविष्यमा फुटबल खेल्न चाहने नयाँ महिला खेलाडीलाई पनि प्रेरणा मिल्ने बताए ।
एन्फाका अध्यक्ष नेम्बाङले युनिलिभरको सहयोग नेपाली महिला फुटबलका लागि ऐतिहासिक क्षण भएको बताए । उनले महिला विश्वकप अगाडि गरिएको सहयोगले महिला टोलीमा नयाँ जोस थपेको बताए । उनले भने, ‘‘ एन्फाले नेपाली महिला फुटबलले सकेसम्म सन् २०२७ को विश्वकप र नसके २०३१ को विश्वकप खेल्ने गरी योजना बनाएको छ । यस सहयोगले महिला टोलीले विश्वकप खेल्ने लक्ष्यमा सहयोग गर्नेछ ।’’
युनिलिभरका कार्यकारी निर्देशक मुखर्जीले नेपाली महिला फुटबल टोलीसँग जोडिन पाउनु खुसीको क्षण भएको बताए । उनले यस सहयोगले महिला टोलीको प्रदर्शनमा सुधार आउने विश्वास पनि गरे ।
नेपालले सन् १९८० मा पहिलो पटक महिला टोली तयार गरेको थियो । सन् १९८६ मा हङकङसँग पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको नेपाली टोली अहिले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेको छ ।
एसियाड तयारीकै लागि महिला टोलीले हालैमात्र बङ्गलादेशसँग दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेर स्वदेश फर्किएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो ।
थप समाचार :
कराते खेलाडी यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी
ग्लोबल टी २० खेल्न सन्दीप क्यानडा प्रस्थान
केभिन सिन्क्लेयर पहिलो पटक वेस्ट इन्डिजको टेस्ट टोलीमा
युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई प्रायोजन गर्ने

टिप्पणी लेख्नुहोस्